ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार्फत सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दुई र दोस्रो ठूलो दल नेपाली काँग्रेसका तर्फबाट एक जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका हुन् ।
निर्वाचन आयोग नेपालले सोमबार सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने सांसद अर्थात प्रतिनिधिसभा सदस्यको विवरणअनुसार ताप्लेजुङ क्षेत्र रहेर रास्वपाबाट रमेश प्रसाईं र मिङ्मा ग्याबु शेर्पा सांसद बनेको छ।प्रसाईं खसआर्य समूहबाट र शेर्पाले आदिवासी जनजाति समूहबाट प्रतिनिधिसभा सदस्य बन्ने अवसर पाएको हो ।
यस्तै नेपाली काँग्रेसको तर्फबाट गीताकुमारी सेन्दाङले सांसद अर्थात प्रतिनिधिसभा सदस्य बन्ने अवसर पाएको छन्।आदिवासी जनजाति महिला समूहअन्तर्गत सेन्दाङलाई समानुपातिक प्रणालीमार्फत सांसद बन्ने अवसर मिलेको हो।रास्वपाले आयोगमा बुझाएको बन्दसूचीमा प्रसाईं र शेर्पाको नामबाहेक यहाँबाट निर्मला खिम्दिङ लिम्बू (मिरा) को नाम पनि समावेश थियो।काँग्रेसका तर्फबाट सेन्दाङको नाम मात्र बन्दसूचीमा परेको थियो ।
प्रतिनिधिसभा सदस्य बन्ने अवसर प्राप्त गरेका प्रसाईं जन्मसिद्ध दृष्टिविहीन भएर पनि अद्वितीय क्षमता भएका र प्रखर वक्ताका रुपमा चिनिन्छन्।त्यस्तै शेर्पा प्रख्यात पर्वतारोही छन्।उनले सर्बोच्च शिखर सगरमाथा र मनास्लु हिमाल नौ–नौ पटक आहोरण गरेर गिनिज बुकमा नाम लेखाइसकेको छन् ।यसैगरी सेन्दाङ पनि सामाजिक अभियान्ता र महिला नेतृका रुपमा परिचित छिन्।
यता समानुपातिक प्रणालीमार्फत सांसद बन्ने अवसर प्राप्त गरेका प्रसाईं, शेर्पा र सेन्दाङसमेत ताप्लेजुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदको सङ्ख्या चार पुगेको छ।एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्षतर्फ नेकपा (एमाले) का क्षितिज थेबे निर्वाचित भएको छन्।
२०८२ चैत ४ गते बुधवार १७:१७ बजे प्रकाशित






















