डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्।
मृत फेला पर्ने व्यक्ति खोटाङ घर भएका अन्दाजी ५५ देखि ६० वर्षीय इन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौँ–१४ स्थित फोहोरमैला सङ्कलन केन्द्र नजिक शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएको बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार उनी केही दिनदेखि घर नफर्किएको स्थानीयको भनाइ छ। “आज कपडाको पोकासहित उनको शव फेला परेको हो,” उनले भने। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, सरकारले शुक्रबार सोही क्षेत्रमा डोजर चलाएको थियो। बुधबार साँझ नै बस्ती खाली गर्न सूचना जारी गरिएको थियो।
अघिल्लो दिन थापाथली सुकुमबासी बस्तीमा १७ वर्षीय किशोरले आत्महत्या गरेको समाचार आए पनि प्रहरीले उक्त घटनाको अझै पुष्टि गरेको छैन।
२०८३ वैशाख १८ गते शुक्रवार १७:०४ बजे प्रकाशित























