प्रधानमन्त्रीले देशवासीसमक्ष माफी नमागेसम्म संसद्मा विरोध जारी रहने एमालेको चेतावनी
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति सच्याउँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। उनले संविधान र राष्ट्रिय हितविरुद्ध जाने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महरले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत र आपत्तिजनक भएको टिप्पणी गरे।
“यो सदन, यो व्यवस्था र यो संविधान नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त भएको हो। तर प्रधानमन्त्रीबाट राष्ट्रघाती र देशद्रोही प्रकृतिको अभिव्यक्ति आएको छ,” उनले भने, “उक्त अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्छ र प्रधानमन्त्रीले माफी माग्नुपर्छ।”
महरले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै नेपालले कुनै पनि देशको भूमि अतिक्रमण नगरेको दाबी गरे।
‘नेपालले कतै पनि एक इन्च भूमि मिचेको छैन। यदि थाहा छैन भने अध्ययन गर्नुस्, पढ्नुस्, आवश्यक परे हामीसँग सिक्न आउनुस्,’ उनले भने।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वाभिमानमा चोट पुगेको आरोप लगाउँदै विदेशी सञ्चारमाध्यममा समेत त्यसको चर्चा भएको बताए।
“आज सिंगो नेपालीको शिर झुकाउने काम भएको छ। भारतीय सञ्चारमाध्यममा यसलाई खुसीयालीका रूपमा प्रस्तुत गरिएको छ,” उनले भने, “प्रधानमन्त्रीबाट विदेशीलाई खुसी पार्ने काम भएको हो कि भन्ने आशंका उत्पन्न भएको छ।”
महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणलाई समेत जोड्दै प्रश्न उठाए, ‘भारत जानुअघि गरिएको चाकडी त होइन ?’
प्रधानमन्त्रीको पोशाकप्रति पनि आपत्ति जनाउँदै उनले संसद्को गरिमा कायम राख्न आग्रह गरे।
“संसद् कुनै फुटबल खेल्ने मैदान वा फेसन शो गर्ने स्थान होइन,” उनले भने, “अन्य कार्यक्रममा नेपाली पोशाकमा सहभागी हुने प्रधानमन्त्री सदनमा भने खेलकुद पोशाकजस्तै देखिने पोशाकमा आउनु उचित होइन।”
महरले प्रधानमन्त्रीले देशवासीसमक्ष माफी नमागेसम्म संसद्मा विरोध जारी रहने चेतावनी दिएका छन्। “प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर माफी नमागेसम्म हाम्रो विरोध जारी रहनेछ,” उनले बताए।
२०८३ जेठ १८ गते सोमवार १७:३५ बजे प्रकाशित























