राजस्व छली आशंकामा नियन्त्रणमा रहेका ७७९ विद्युतीय सवारीबारे छानबिन समिति गठन
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीबार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो।
राजस्व छलीको आशंकामा ती सवारीसाधन नियन्त्रणमा लिइएको बताइएपछि सरकारले सुशासन र राजस्व सुरक्षालाई ध्यानमा राख्दै तत्काल छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिले नियन्त्रणमा लिइएका सवारीसाधन रहेका स्थानमै पुगेर स्थलगत रूपमा छानबिन सुरु गरिसकेको छ।
समितिले कानुनी प्रक्रिया अनुसार द्रुत गतिमा अध्ययन तथा अनुसन्धान अघि बढाउने बताइएको छ।
२०८३ जेठ २२ गते शुक्रवार १८:०१ बजे प्रकाशित






















