सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्।
महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरको दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन्।
सभापति लामिछानेले पार्टीको अहिलेको अवस्थासम्म आइपुग्न नेता–कार्यकर्ताको निरन्तर साथ, विश्वास र मेहनत महत्वपूर्ण रहेको बताए।
‘पार्टी जहाँ आएको छ यहाँहरूको अनवरत साथ, विश्वास र मेहनतका साथ आएको छ,’ उनले भने, ‘त्यसकारण म साथीहरूलाई स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह गर्न चाहन्छु। स्वस्थ प्रतिस्पर्धाबाट हामी नयाँ उचाइमा पुग्नेछौँ।’
उनले पार्टीभित्र जुनसुकै भूमिकामा रहे पनि सबै सदस्यहरूलाई जिम्मेवार ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
‘केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि वा अन्य भूमिकामा रहे पनि जिम्मेवार भूमिकामा आफूलाई अघि बढाउनेमा म विश्वस्त छु,’ उनले भने।
सभापति लामिछानेले नेताहरूको अनुभव समाजले सकारात्मक रूपमा ग्रहण गर्ने अपेक्षा पनि व्यक्त गरे।
‘तपाईंहरूको यो अनुभव यो समाजले सकारात्मक रूपमा प्राप्त गर्ने कुरामा आशा र भरोसा राखेको छु। म र मेरो नेतृत्वमा विश्वास गरिदिनुभएकोमा, अप्ठेरो पर्दा, चोट लाग्दा हामी छौँ भनेर उभिनुभएकोमा धन्यवाद दिन चाहन्छु,’ उनले थपे।
२०८३ असार ६ गते शनिवार १७:४४ बजे प्रकाशित























