रास्वपाको महाधिवेशन लम्बिँदा खर्च बढ्यो, व्यवस्थापनमा दबाब
काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा कार्यक्रम लम्बिएको छ । यससँगै व्यवस्थापन खर्च पनि बढ्दै गएको छ ।
आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार उद्घाटनदेखि बन्दसत्रसम्मका लागि सोमबार र मंगलबार प्रतिनिधिहरूका लागि खाजा र खाना पार्टीले नै व्यवस्था गरेको थियो । तर महाधिवेशन लम्बिएपछि थप दिनका लागि होटलसँग क्याटरिङ सेवा सम्झौता गर्नुपर्ने अवस्था आएको उनले बताए ।
रास्वपाले पहिलो दुई दिनका लागि दैनिक करिब ६ हजार जनालाई बिहानको खाजा र दुई छाक खाना उपलब्ध गराएको थियो । पार्टी प्रतिनिधि, अतिथि तथा सुरक्षाकर्मीसमेत गरी दैनिक करिब ६ हजार जनाले भोजन र खाजा उपभोग गरेको उनले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन थप दिन लम्बिँदा दैनिक करिब ५० लाख रुपैयाँसम्म अतिरिक्त खर्च हुने अनुमान गरिएको छ ।
खर्च व्यवस्थापनमा समस्या देखिन थालेपछि केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए । यही परिस्थितिलाई मध्यनजर गर्दै बन्दसत्र उद्घाटनका क्रममा पार्टी सभापति रवि लामिछानेले प्रतिनिधि दर्ता शुल्कलाई ऐच्छिक बनाउने घोषणा गरेका छन् ।
पार्टीले प्रतिनिधिबाट ५ हजार रुपैयाँ दर्ता शुल्क लिने व्यवस्था गरेको थियो । तर यसलाई ऐच्छिक बनाइएपछि आर्थिक रूपमा कठिनाइमा परेका प्रतिनिधिहरूलाई केही राहत हुने अपेक्षा गरिएको छ ।
२०८३ असार १० गते बुधवार १७:२३ बजे प्रकाशित























