"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ।

सरकारको उच्च तहबाट भएको निरन्तर कूटनीतिक पहल तथा भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले परीक्षण प्रक्रियामा खुकुलो मापदण्ड (एसओपी) लागू गरेपछि पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाली चिया भारत निर्यात हुन थालेको हो।

निर्यात अवरुद्ध हुँदा इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया मौज्दात रहेको थियो। निकासी पुन: सुरु भएसँगै उक्त चिया भारतीय बजारमा सहज रूपमा पुग्ने विश्वास चिया व्यवसायीहरूले व्यक्त गरेका छन्।

नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलाममा उत्पादित अर्थोडक्स चिया बोकेका दुई ट्रक काँकडभिट्टा नाका हुँदै भारतको पानीट्यांकी भन्सार प्रवेश गरिसकेका छन्।

झन्डै दुई महिनादेखिको अन्योल अन्त्य भएसँगै व्यवसायीहरूले पनि नयाँ खेपको चिया निर्यात गर्न थालेका छन्।

तारागाउँ टी स्टेट र सिद्धेश्वर टी स्टेटका सञ्चालक तथा नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष उत्तम श्रेष्ठले प्रधानमन्त्री कार्यालयको निरन्तर पहल र भारतीय पक्षबाट आएको सकारात्मक संकेतपछि चिया निर्यात पुन: सुरु गरिएको बताए।

चिया व्यवसायीहरूले अब निर्यात प्रक्रिया सहज र नियमित हुने अपेक्षा गरेका छन्।

२०८३ असार १६ गते मंगलवार १७:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु