इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्यमा उल्लेख्य कटौती गरेको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ। नयाँ मूल्य आजदेखि लागू भएको छ।
तर मूल्य घटाउने निर्णयपछि निजी पेट्रोल पम्प सञ्चालकहरूले भने ठूलो दरमा मूल्य घटेको भन्दै असन्तुष्टि जनाउँदै पेट्रोल पम्प सञ्चालन नै बन्द गरेका छन्। आज काठमाडौं उपत्यकाका धेरै निजी पेट्रोल पम्प बन्द रहेका छन्।
यसैबीच, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पहरूमा भने इन्धन बिक्री भइरहेको छ।
काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा पेट्रोल भर्नका लागि मोटरसाइकल र स्कुटरसहित ठूलो भीड देखिएको छ। अन्य पम्पहरू बन्द हुँदा सर्वसाधारणले लामो समय लाइनमा बस्नुपरेको छ।
२०८३ असार १७ गते बुधवार १७:५० बजे प्रकाशित






















