बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थलबाट घाइतेहरूको उद्धार कार्य जारी छ भने उनीहरूको विस्तृत विवरण खुल्न बाँकी छ ।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका–९ स्थित गैराखान नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ६० मिटर तल खसेको खोड्पे प्रहरी चौकीका इन्चार्ज किसन भट्टले बताए। उनका अनुसार घाइतेमध्ये ६० वर्षीय एक पुरुष र ५५ वर्षीया एक महिलाको अवस्था गम्भीर छ।
घटनास्थलमा अहिले स्थानीय बासिन्दा, खोड्पे प्रहरी चौकी र इलाका प्रहरी कार्यालयको टोलीले घाइतेहरूको उद्धार गरिरहेको छ । उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल र खोड्पे स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
दुई हप्तामै दोस्रो दुर्घटना
बैतडीमा दुई हप्ताअघि (असार ५ गते) पनि धनगढीबाट बैतडीतर्फ नै जाँदै गरेको सुदूरपश्चिम यातायातको सु।प।प्र। ०१–००१ ख ३६४६ नम्बरको बस दशरथचन्द नगरपालिका–४ खडेपिपल नजिकै दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी एक जना शिक्षकको ज्यान गएको थियो भने १० जना यात्रु घाइते भएका थिए । उक्त दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका–६ सिमायल घर भएका ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको घटनास्थलमै निधन भएको थियो । चन्द पाटन नगरपालिका–४ ठाँडस्थित भूमेश्वर माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
२०८३ असार १९ गते शुक्रवार १८:१० बजे प्रकाशित




















