१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ।
सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मीत पोखरेलले उक्त जानकारी दिएका हुन्। उनका अनुसार जलन उपचार सेवाको विस्तार र प्रभावकारी सञ्चालनका लागि ६४ जना स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम प्रदान गरिएको छ।
यसैगरी, लक्षित वर्गलाई नि:शुल्क उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ‘लक्षित वर्ग नि:शुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३’ जारी गरिएको उनले बताए।
प्रवक्ता पोखरेलका अनुसार ‘सुलभ फार्मेसी सेवा मापदण्ड, २०८३’ कार्यान्वयनमा ल्याई सर्वसाधारणलाई गुणस्तरीय र सुलभ औषधि सेवा उपलब्ध गराउने उद्देश्यअनुसार विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ।
२०८३ असार २० गते शनिवार १७:३७ बजे प्रकाशित




















