काठमाडौं महानगरका ३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं तह) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
स्थायी लेखा नम्बर (प्यान)बन्द गर्न वडा कार्यालयबाट उपलब्ध गराउनुपर्ने सिफारिसका लागि सेवाग्राहीलाई अनावश्यक दु:ख–हैरानी दिई घुसररिसवत माग गरेको सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी गरेको थियो।
टोलीले भट्टराईलाई माग गरिएको घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको छ।
२०८३ साउन ८ गते शुक्रवार १७:१९ बजे प्रकाशित























