"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बिरामीको ज्यानसँग आन्दोलन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह, दोषी जेल नपरेसम्म आन्दोलन नरोकिँने चिकित्सकको अडान

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकको आन्दोलन जारी रहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ। मन्त्रालयले संवाद र कानुनी प्रक्रियामार्फत समस्या समाधानको प्रयास भइरहेको भन्दै स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अपिल गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न निर्देशन नदिएको स्पष्ट गर्दै केही स्थानमा सेवा सञ्चालन भइरहेकाले उपचार सेवा अवरुद्ध हुन नहुने बताए। उनका अनुसार स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव तथा मन्त्रालयका उच्च अधिकारी चिकित्सकका प्रतिनिधि, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग निरन्तर समन्वयमा छन्।

वीरगञ्जमै स्थानीय प्रशासन, अस्पताल व्यवस्थापन र चिकित्सकबीच पटक–पटक वार्ता भएको तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। अनुज भट्टचन घटनास्थल पुगेर सरोकारवालासँग छलफल गरिरहेको मन्त्रालयले जनाएको छ। घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गराउन आवश्यक समन्वय भइरहेको पनि मन्त्रालयको भनाइ छ।

मन्त्रालयले चिकित्सकका मागप्रति आफू संवेदनशील रहे पनि त्यसको असर बिरामीको उपचारमा पर्न नहुने धारणा राखेको छ। अस्पताल आमनागरिकको अन्तिम भरोसाको केन्द्र भएकाले आन्दोलनका कारण स्वास्थ्य सेवा ठप्प पार्न नहुने मन्त्रालयको जोड छ।

यता, नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिँदै आकस्मिक सेवासमेत बन्द गरेका छन्। उनीहरूले चिकित्सकमाथिको कुटपिट र त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा तथा आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी जेल हाल्नुपर्ने माग अघि सारेका छन्।

नेपाल चिकित्सक संघले पनि मंगलबार देशभरका स्वास्थ्य संस्थालाई सेवा बन्द गर्न आह्वान गरेपछि अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा प्रभावित भएका छन्।

संघका अध्यक्ष डा। बद्री रिजालले सरकारले गम्भीर रूपमा संवाद अघि नबढाएको आरोप लगाउँदै चिकित्सकमाथिको हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। उनका अनुसार आक्रमणमा संलग्नलाई कानुनी कारबाही गरी जेल नहालेसम्म आन्दोलन फिर्ता हुने अवस्था छैन।

चिकित्सक संघले आन्दोलनका आगामी कार्यक्रम तय गर्न मंगलबार दिउँसो पदाधिकारी बैठकसमेत बोलाएको जनाएको छ।

२०८३ साउन १२ गते मंगलवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु