"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन: एक साताभित्र प्रतिवेदन बुझाउने

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठित समितिलाई घटनाको अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरी बलका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहेका छन्।

गृहमन्त्रालयका अनुसार समितिले घटनाको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र अवस्थाको छानबिन गर्नुका साथै यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक नीति तथा उपायबारे पनि सुझावसहित प्रतिवेदन पेश गर्नेछ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरीको अवस्था तनावग्रस्त बनेको छ। त्यसयता प्रदर्शन, सडक अवरोध र हिंसात्मक गतिविधि बढेपछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु जारी गरेको छ।

घटनापछि गृहमन्त्री सुधन गुरुङले सोमबार नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए। सोही छलफलपछि घटनाको निष्पक्ष छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको हो।

२०८३ साउन १२ गते मंगलवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु