सर्वेक्षणको नतिजा सार्वजनिक, नेपालमा ४२९ बाघ
Compressed by jpeg-recompress
काठमाडौँ। नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ ।
विश्व बाघ दिवसको अवसर पारेर आयोजना गरिएको एक विशेष कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बुधबार सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ महिनाको समयावधि लगाएर बाघ पाइने पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा पाइने बाघको संख्याको सर्वेक्षण गरेको थियो । नेपालमा बाघ तराई भूपरिधिको पर्सादेखि शुक्लाफाँटासम्म बाघ पाइने गरेको छ ।
यो वर्ष बाघको संख्या बढेको छ । सन् २०२२ को बाघ सर्वेक्षणमा नेपालभरी बाघको संख्या ३५५ थियो । यस पटक विगतभन्दा विगत चार वर्ष यता बाघको संख्या ७४ ले बढेको हो ।
पछिल्लो चार वर्षमा ७४ बाघ थपिएको भए पनि बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भने अघिल्लो चार वर्षभन्दा यस पटक बाघको संख्या घटेको छ । सन् २०२२ को सर्वेक्षणमा बर्दियामा बाघको संख्या १२५ थियो भने यस पटक ११२ वटा बाघ रेकर्ड गरिएका छन् ।
बुधबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा १४५, बाँके राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१ वटा बाघ रेकर्ड गरिएका छन् ।
अघिल्लो बाघ सर्वेक्षणमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा रेकर्ड गरिएका थिए । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा, पर्सामा ४१, बाँकेका २५, शुक्लाफाँटामा ३६ वटा बाघ रेकर्ड गरिएका थिए ।
बाघको संख्या बढेको दर हेर्दा सबैभन्दा बढी पर्सा राष्ट्रिय निकुञ्जमा देखिन्छ । यस पटकको सर्वेक्षणमा पर्सामा ३० वटा, बाँकेमा २६ वटा बाघ बढेको छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७, शुक्लाफाँटा र आसपासको क्षेत्रमा १४ वटा बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ वटाले घटेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
बाघको संख्या आहार प्रजाति, बासस्थान र चोरी शिकार नियन्त्रणमा आधारित हुने गर्छ । यस पटकको गणनामा बाघको वृद्धिदर भने ऋणात्मक रहेको छ । सन् २०१८ भन्दा २०२२ मा झण्डैं ५१ प्रतिशतले बढेको बाघको वृद्धिदर यस पटकको गणनामा जम्मा २१ प्रतिशत मात्र रहेको छ ।
मनाइयो बाघ दिवस
आज अंग्रेजी तारेख जुलाई २९ अर्थात विश्व बाघ दिवस । हरेक वर्ष जुलाई २९ का दिन विश्व बाघ दिवस मनाउने गरिएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको पहिलो बाघ सम्मेलनले बाघ संरक्षण र बाघ संरक्षणसम्बन्धी सचेतना र सजगता अपनाउका लागि यो दिनलाई बाघ दिवस मनाउने घोषणा गरेको थियो ।
सोही दिनको अवसर पारेर नेपालले बाघ सर्वेक्षणको नतिजा आज सार्वजनिक गरिएको हो । बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ बढ्नु राम्रो कुरा भए पनि चुनौती थपिएको प्रति सबै सम्वेदनशील हुनुपर्ने बताए।
उनले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरकार एक्लैले मात्र केही गर्न नसक्ने भन्दै सरोकारवाला सबैको सहयोग र सक्रिय सहभागिताको आवश्यक्तामा जोड दिए।
सो अवसरमा मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले बाघ मानव सहअस्तित्वका लागि आगामी दिनमा ठोस योजना र कार्यक्रम सरकारले सञ्चालन गर्ने कुरा बताए।
२०८३ साउन १३ गते बुधवार १७:४३ बजे प्रकाशित























