कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबाट निमन्त्रणा प्राप्त भएको छ।
बुधबार राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा आएको जानकारी दिएका हुन्।
उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्।
‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ बैठकमा सहसचिव ढकालले भने, ‘टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो।’
परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको पनि उनले जानकारी दिए। तर सम्मेलनमा नेपालबाट प्रधानमन्त्रीकै तहमा सहभागिता हुने वा अन्य तहको प्रतिनिधिमण्डल सहभागी हुने भन्नेबारे निर्णय भइनसकेको उनले बताए।
‘त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौँ। कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतीक्षामा छौँ,’ ढकालले भने।
जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको नेपालका लागि कोप सम्मेलन अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्ना जलवायुजन्य चुनौती र प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा रहँदै आएको छ। हिमाली क्षेत्रको तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम, बाढीपहिरो तथा जलवायुजन्य विपद्का विषय नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको छ।
कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० गतेसम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ। प्रधानमन्त्री शाहको सहभागिता टुंगो लागेमा नेपालको जलवायु कूटनीतिका प्राथमिकता उच्च राजनीतिक तहमा प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ।
२०८३ साउन २७ गते बुधवार १६:५४ बजे प्रकाशित























