"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

तीन छात्राको निधनमा हेटौँडा–१९ का विद्यालयमा शोक बिदा

मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलामा आएको बाढीले बगाउँदा तीन छात्राको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै वडा नं. १९ भित्रका विद्यालयमा सोमबार शोक बिदा दिइएको छ।

हेटौँडा उपमहानगरपालिका–१९ नम्बर वडा कार्यालयले सूचना जारी गर्दै वडाभित्र रहेका सम्पूर्ण विद्यालयमा सोमबार एक दिन शोक बिदा दिएको हो। बाढीमा परी घाइते भएकी छात्राको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

भदौ २ गते हेटौँडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत चार जना छात्रा विद्यालयबाट घर फर्कने क्रममा स्थानीय बासुदेव खोलामा आएको बाढीले बगाएको थियो। बाढीले बगाएका बालिकामध्ये कक्षा ६ मा अध्ययनरत सीमा ब्लोनको उद्धार गरिएको थियो।

बाढीमा परी कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तान, कक्षा ५ की सुमित्रा ब्लोन र कक्षा ७ की विनिता ब्लोनको मृत्यु भएको थियो।

वडा सचिव दीपेन्द्र ढकालले हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार वडा कार्यालय क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा सोमबार एक दिन शोक बिदा दिइएको बताउनुभयो।

वडा कार्यालयले विद्यालयमा मृतक छात्राहरूको आत्माको चिरशान्तिको कामना तथा बाढीमा परी घाइते भएकी छात्राको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी पठनपाठन बन्द गर्न सूचना जारी गरेको जनाएको छ। वडा नं। १९ मा निर्मल माध्यमिक विद्यालयसहित १० वटा सामुदायिक विद्यालय रहेका छन्।

२०८३ भदौ ८ गते सोमवार १०:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु