बाढी प्रभावितलाई टेलिकम र एनसेलको निःशुल्क सेवा
काठमाडौं । बाढीबाट प्रभावित रसुवासहित पाँच जिल्लाका नागरिकलाई नेपाल टेलिकमले दुई दिनसम्म निःशुल्क डेटा र एसएमएस सेवा उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावित नागरिकलाई लक्षित गरी टेलिकमले उक्त सेवा उपलब्ध गराउने निर्णय गरेको हो।
नेपाल टेलिकमका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले दुई दिनसम्म प्रतिदिन ५० वटा एसएमएस र २ जीबी डेटा निःशुल्क प्रयोग गर्न पाउनेछन्।
यस्तै, एनसेलले पनि बाढी प्रभावित क्षेत्रमा तीन दिनसम्म भ्वाइस, एसएमएस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने भएको दाहालले जानकारी दिनुभयो।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन हेलिकप्टरका लागि आवश्यक इन्धनको व्यवस्था पनि तीव्र पारिएको छ।
दाहालका अनुसार उद्धार तथा राहतमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमको ट्याङ्करसहितको टोली काठमाडौंँबाट तत्काल परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन तथा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारी निकायले आवश्यक समन्वय गरिरहेको जनाइएको छ।
२०८३ भदौ १० गते बुधवार १३:४६ बजे प्रकाशित




















