काठमाडौंको ‘लाइफलाइन’ पृथ्वी राजमार्ग ठप्प, कृष्णभिरमा सडक भासिएपछि वैकल्पिक मार्गमा चाप
धादिङ। धादिङको चर्चित कृष्णभिरनजिकै पृथ्वी राजमार्ग भासिएपछि काठमाडौँ जोड्ने प्रमुख सडकमार्ग ठप्प भएको छ। बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर क्षेत्रमा त्रिशूली नदीको निरन्तर कटानका कारण करिब १०० मिटर लम्बाइ र ९ मिटर चौडाइको सडक भासिएको हो।
पृथ्वी राजमार्ग मुग्लिङ–मलेखु खण्ड निर्माण योजनाका इन्जिनियर धीरज ढकालका अनुसार त्रिशूली नदीको कटानसँगै सडकभन्दा तलको भूभागमा भएको ‘फ्लो कटिङ’ का कारण सडक भासिएको हो।
उहाँका अनुसार सडक भासिने क्रम अझै रोकिएको छैन। कतिपय स्थानमा सडक थप चिरिएकाले थप भूभाग भासिने जोखिमसमेत बढेको छ। सडकसँगै सडकछेउको नाली पनि भासिएको छ।
“त्रिशूली नदीमा झन्डै सय मिटर पर्खाल दिएर राजमार्गलाई संरक्षण गरिएको थियो। अहिले त्यो पर्खाल नै त्रिशूलीले बगाएको छ,” इन्जिनियर ढकालले भन्नुभयो।
तत्काल राजमार्ग खुल्ने सम्भावना न्यून
राजमार्ग भासिएपछि अहिले त्यस क्षेत्रमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोकिएको छ। सडक भासिने क्रम जारी रहेकाले तत्काल सवारी सञ्चालन गर्न जोखिमपूर्ण रहेको सडक योजनाले जनाएको छ।
इन्जिनियर ढकालका अनुसार सडक खुलाउन डाइभर्सन निर्माण गर्ने विकल्प रहे पनि कृष्णभिरको विगतको भौगोलिक जोखिमका कारण यो विकल्प सहज छैन।
त्यसैगरी, नदीले सडकको संरचना बगाएकै स्थानबाट ‘टो वाल’ निर्माण गरी सडक पुनःस्थापना गर्नुपर्ने अवस्था रहेकाले तत्काल राजमार्ग सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ।
“बगाएकै ठाउँबाट टो वाल दिएर सडक बनाउन समय लाग्छ। त्यसैले राजमार्ग खुल्न केही समय लाग्नेछ,” उहाँले भन्नुभयो।
२०५७ सालपछि बनाइएको संरक्षण संरचना पनि बगायो
कृष्णभिर क्षेत्रमा यसअघि पनि ठूलो पहिरोको समस्या देखिएको थियो। २०५७ सालमा ठूलो पहिरो गएपछि त्रिशूली नदीतर्फ पर्खाल निर्माण गरी राजमार्ग संरक्षण गरिएको थियो।
त्यससँगै भिरतर्फ पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङ तथा भूप्राविधिक प्रविधिसमेत प्रयोग गरिएको थियो। पानीको उचित निकास, भिरको सतह संरक्षण, घाँस तथा वनस्पतिको प्रयोग, माटो बाँध्ने र आवश्यक संरचनात्मक उपाय अपनाउने यो प्रविधि नेपालमा पहिलो सफल प्रयोगका उदाहरणमध्ये एक मानिन्छ।
तर यसपटक त्रिशूली नदीको तीव्र कटानका कारण राजमार्ग संरक्षणका लागि निर्माण गरिएको संरचना नै बगेपछि सडक थप जोखिममा परेको हो।
वैकल्पिक मार्गबाट अत्यावश्यक सवारी सञ्चालन
पृथ्वी राजमार्ग बन्द भएपछि अत्यावश्यक सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
काठमाडौँबाट बाहिरिने ठूला सवारीलाई काठमाडौँ–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ। साना सवारी तथा माइक्रोबसलाई भने फर्पिङतर्फको सडक प्रयोग गराइएको छ।
प्रहरीका अनुसार सडकको अवस्था, निरन्तरको वर्षा र वैकल्पिक सडक साँघुरो रहेकाले सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन। अत्यावश्यक मालवाहक तथा यात्रुवाहक सवारीलाई अवस्था हेरेर मात्र पठाउने गरिएको छ।
कान्ति लोकपथबाट समेत सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
२०८३ भदौ १५ गते सोमवार ११:२७ बजे प्रकाशित






















