बाढीमा बेपत्ताका आफन्तलाई डीएनए परीक्षण गर्न रगतको नमुना दिन आफन्तलाई आग्रह
काठमाडौँ । भोटेकोशी बाढीपछि फेला परेका सनाखत हुन नसकेका शव तथा मानव अङ्गको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । प्रहरीले नेपाल तथा विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तलाई डीएनए प्रोफाइल उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको हो ।
प्रहरीका अनुसार नेपालमा रहेका बेपत्ता व्यक्तिका बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले ताजा रगतको नमुना उपलब्ध गराउन सक्नेछन् । त्यसका लागि पासपोर्ट आकारका दुईवटा फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले भने आफू बसेको देशमा अधिकृत प्रयोगशालाबाट Autosomal STR DNA profiling गराई त्यसको सफ्ट कपी नेपाल प्रहरीलाई पठाउन सक्ने व्यवस्था गरिएको छ ।
प्रहरीले डीएनए प्रोफाइल dnacodis@nepalpolice.gov.np इमेलमा पठाउन आग्रह गरेको छ । डीएनए परीक्षणका लागि ग्लोबल पाइलट एसटीआर किट प्रयोग गरिने जनाइएको छ ।
प्रहरीका अनुसार डीएनए नमुना उपलब्ध गराउँदा बेपत्ता व्यक्तिको पूरा नाम र राष्ट्रियता, परिचय खुल्ने विवरण, बेपत्ता भएको मिति, अधिकृत प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइल तथा डीएनए नमुना दिने व्यक्ति र बेपत्ताबीचको सम्बन्धसम्बन्धी विवरणसमेत समावेश गर्नुपर्नेछ ।
यसका लागि नेपाल प्रहरीले सम्पर्क अधिकारीसमेत तोकेको छ । प्रहरी निरीक्षक शम्भुबहादुर केसीलाई ९८४१६१६०९५ र प्रहरी सहायक निरीक्षक विष्णु घिमिरेलाई ९८५७०९१०१३ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
२०८३ भदौ १८ गते बिहीवार १०:४७ बजे प्रकाशित






















