कृष्णभिरमा सडक भासिएपछि राजधानी बाहिर बोटलिङ गरी दैनिक ८–१० हजार सिलिण्डर काठमाडौं ल्याउने तयारी
चितवन । पृथ्वीराजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव हटाउन उद्योगीहरूले वैकल्पिक मार्गबाट सिलिण्डर ल्याउन थालेका छन्।
नेपाल आयल निगमले उपत्यका बाहिरका उद्योगमा ग्यास भरेर सिलिण्डर काठमाडौं ल्याउन अनुमति दिएपछि चितवन, मकवानपुर, नवलपरासी लगायतका उद्योगमा बोटलिङ सुरु गरिएको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार राजधानीमा सामान्य अवस्थामा दैनिक करिब ४० हजार सिलिण्डर आवश्यक पर्छ। अहिले माग बढेकाले आपूर्ति सहज बनाउन बाहिरी जिल्लाका उद्योगले दुई सिफ्टमा ग्यास भर्ने काम गरिरहेका छन्।
नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारीका अनुसार केही दिनभित्र दैनिक ८ देखि १० हजार सिलिण्डर काठमाडौं ल्याउने तयारी भइरहेको छ। सिलिण्डर अभावका कारण भने मागअनुसार तत्कालै ग्यास भर्न समस्या भइरहेको छ।
यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेशनले पनि निजी ग्यास उद्योगसँग सहकार्य गरी आफ्ना ‘एसटीसी सिलिण्डर’मा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउन थालेको छ।
उद्योगीहरूले ग्यासको आयातमा तत्काल समस्या नरहेको भन्दै केही दिनमै आपूर्ति सहज हुने बताएका छन्। साथै, उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास लिन र अनावश्यक मौज्दात नगर्न आग्रह गरिएको छ।
२०८३ भदौ २० गते शनिवार ०९:५८ बजे प्रकाशित























