"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ग्यास किन्न उपभोक्तालाई सास्ती, छब्बिस सयमा सिलिन्डर बेच्नेलाई तीन लाख जरिबाना

काठमाडौँ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने बाध्यता खेपिरहेका छन् । घण्टौँ लाइन बसेर पनि ग्यास नपाउने अवस्था बनेपछि अभावसँगै कालोबजारीको समस्या थपिएको हो ।

भोटेकोशीको हिमबाढी र पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोका कारण ग्यास आपूर्ति प्रभावित भएको छ । सामान्य अवस्थामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर आवश्यक पर्ने उपत्यकामा अहिले औसत ३० हजार सिलिन्डर मात्र भित्रिइरहेको नेपाल आयल निगमले जनाएको छ ।

आपूर्ति कम भएपछि केही व्यवसायीले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको पाइएको छ । मूलपानीस्थित अनिल खाद्य किराना पसलले सुगम ग्यास प्रतिसिलिन्डर दुई हजार छ सय रुपियाँमा बिक्री गरेको प्रमाण भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपियाँ जरिबाना गरेको छ ।

विभागले ग्यास उद्योग, विक्रेता र डिपोमा अनुगमन तीव्र बनाएको जनाएको छ । बिहीबार १० वटा उद्योग तथा डिपोमा गरिएको अनुगमनका क्रममा अधिकांशमा ग्यास नआएको र सयौँ उपभोक्ता लाइनमा रहेको पाइएको थियो ।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि व्यवसायीले हेटौँडा, वीरगन्ज, नवलपरासी र धनुषालगायतका स्थानबाट वैकल्पिक मार्ग हुँदै ग्यास ल्याइरहेका छन् । ढुवानी लागत बढेको भन्दै उद्योग सङ्घले निगमले तोकेको मूल्यमा थप १०५ रुपियाँ ३८ पैसा जोडेर बिक्री गर्न भनेको छ ।

२०८३ भदौ २६ गते शुक्रवार १०:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु