चक्रवातको प्रभावले आज र भोलि ठूलो वर्षा, राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
काठमाण्डौ – अर्नब चक्रवातको प्रभावले आज र भोलि देशका पूर्वी तथा मध्य क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना छ । वर्षाका कारण बाढी, डुबान र पहिरोको जोखिम बढेकाले सतर्क रहन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको सतह बढ्न सक्नेछ । कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिमसमेत रहेको छ ।
यस्तै, नारायणगढ–मुग्लिन, कोशी, सिद्धार्थ, कान्ति र अरनिको राजमार्गका विभिन्न खण्डमा पहिरो तथा सडक क्षतिको जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि वर्षा र हिमपात बढ्न सक्नेछ । पर्सिदेखि भने वर्षा कम भएसँगै बाढीको जोखिम पनि घट्ने अनुमान छ ।
२०८३ कात्तिक १३ गते शुक्रवार १२:०२ बजे प्रकाशित






















