भूटानमा हिमताल विस्फोटपछि बाढी, तातोपानी कुण्ड बगायो
काठमाण्डौ – भूटानको उत्तरी गासा जिल्लामा हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ । बाढीले पुनाखा–गासा राजमार्गको झन्डै ३१.८५ किलोमिटर खण्डमा समेत क्षति पुर्याएको छ ।
डेली भुटानका अनुसार हिजो बेलुका सिन्टाफु हिमतालबाट पानी बाहिरिएपछि आएको बाढीले सडकमा क्षति पुर्याएको हो । घटनापछि उक्त राजमार्गमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको छ । जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
सिन्टाफु हिमताल भूटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो । बाढीको जोखिमलाई ध्यानमा राख्दै भारतको केन्द्रीय जल आयोगले पश्चिम बङ्गाल र असमका केही क्षेत्रमा सतर्कता जारी गरेको छ । आयोगले सङ्कोश नदीको जलस्तर अचानक बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
२०८३ कात्तिक १३ गते शुक्रवार १२:१५ बजे प्रकाशित






















