दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको होः कानुनमन्त्री गौतम
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायका पदाधिकारीलाई दोहोरो सेवा सुविधा नपाउने गरी कानुन बनाउन लागिएको बताउनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै मन्त्री गौतमले सेवानिवृत्त कर्मचारी पुनः संवैधानिक निकायमा नियुक्त हुँदा पेन्सन र तलब दुवै पाउने अवस्था अन्त्य गर्न विधेयक ल्याइएको बताउनुभयो ।
उहाँले सर्वोच्च अदालतको आदेशलाई समेत ध्यानमा राखेर दोहोरो सुविधा रोक्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
राज्यको सीमित स्रोतसाधनको समुचित प्रयोग गर्न र एउटै व्यक्तिले दोहोरो सुविधा लिने प्रवृत्ति अन्त्य गर्न विधेयक आवश्यक भएको उहाँको भनाइ छ ।
२०८३ असोज ८ गते बिहीवार १४:५२ बजे प्रकाशित























