"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मूल्यवृद्धि र कालोबजारी रोक्न बजार अनुगमन तीव्र, चामलको मूल्य बढ्यो

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको माग बढेसँगै सरकारले बजार अनुगमन तीव्र बनाएको छ । खाद्यान्न, चिनी, ग्यासलगायत वस्तुको आपूर्ति सहज बनाउन तथा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन बढाइएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार काठमाडौँ उपत्यकामा अहिले १० देखि ११ टोली परिचालन भएका छन् । ती टोलीले दैनिक करिब ४० वटा पसल तथा व्यावसायिक फर्ममा अनुगमन गरिरहेका छन् ।

चालु आर्थिक वर्षमा हालसम्म करिब ७५० पसल तथा फर्ममा अनुगमन गरिएको छ । अनुगमनका क्रममा बिक्री मूल्यभन्दा बढी मूल्य लिएको पाइएका ९८ व्यवसायीलाई कारबाही गरी ३५ लाख २१ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार बजारमा चिनीको अभाव छैन । तर, चाडपर्वका बेला कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन ठूला पसल तथा गोदाममा समेत निगरानी बढाइएको छ ।

यसैबीच, पछिल्लो समय चामलको मूल्य प्रतिबोरा करिब २०० रुपैयाँसम्म बढेको विभागले जनाएको छ । व्यवसायीहरूले चाडपर्वको माग, ढुवानी लागत र सडक अवरोधलाई मूल्यवृद्धिको कारण बताउँदै आएका छन् ।

कृष्णभीरको सडक अवरोधका कारण केही समय खाद्यान्न ढुवानी प्रभावित भए पनि अहिले सडक सञ्चालनमा आएसँगै आपूर्तिमा समस्या नरहेको विभागले जनाएको छ ।

२०८३ असोज ८ गते बिहीवार १४:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु