कोशीमा १२ लाखभन्दा बढी गाईभैंसीलाई खोरेतविरुद्ध खोप लगाइँदै
विराटनगर, असोज १६ गते । कोशी प्रदेशका १२ लाख ३५ हजारभन्दा बढी गाईभैंसीलाई खोरेत रोगविरुद्धको खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ ।
प्रदेशका सबै १४ जिल्लामा एकैसाथ सञ्चालन हुने अभियानमा पहिलो चरणमा १२ लाख ३५ हजार गाईभैंसीलाई खोप लगाउने लक्ष्य राखिएको छ । प्रदेशमा १७ लाखभन्दा बढी गाईभैंसी रहेको पशुपन्छी तथा मत्स्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक डा. सुशील अधिकारीका अनुसार खोरेत रोग नियन्त्रणसँगै पशुजन्य उत्पादनको गुणस्तर सुधार र निर्यात प्रवर्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियान एक महिनासम्म चल्नेछ ।
खोरेतका कारण पशुजन्य उत्पादन निर्यातमा समस्या हुने भएकाले प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि खोप अभियानलाई प्राथमिकता दिँदै आएको छ । यसअघि इलाम, पाँचथरलगायत जिल्लामा सञ्चालन हुँदै आएको अभियान यस वर्षदेखि सबै १४ जिल्लामा विस्तार गरिएको हो ।
कोशीबाट निर्यात हुने छुर्पी, घिउ र नौनीजस्ता दुग्धजन्य उत्पादनलाई सुरक्षित र गुणस्तरीय बनाउन खोप अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको छ । खोपको विवरण किसानको नाम र पशुको सङ्ख्यासहित अनलाइनमा प्रविष्ट गर्ने व्यवस्था पनि मिलाइएको छ ।
२०८३ असोज १६ गते शुक्रवार ११:५२ बजे प्रकाशित























