कर्मचारी सञ्चय कोष विधेयकमा ५९ वटा संशोधन प्रस्ताव
काठमाडौँ, असोज १६ गते । कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक २०८३ मा सांसदहरूले ५९ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
विधेयकमा १७ समूहका सांसदले संशोधन प्रस्ताव दर्ता गरेका हुन् । संशोधन प्रस्ताव राख्ने सांसदमा हर्कराज राई, पूर्णप्रसाद लिम्बु, परशुराम तामाङ, लिमा अधिकारी (आचार्य), हरिप्रसाद भुसाल, रन्जु न्यौपाने, प्रा. डा. पुष्पराज कडेल, नरेन्द्रकुमार केरुङलगायत छन् ।
त्यस्तै, शाहजान खातुन, खडकबहादुर बुढा, रेखाकुमारी यादव, मनिष झा, सुशील खड्का, साजिदा खातुन सिद्धिकी, नितिमा भण्डारी (कार्की), गणेश कार्की, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, कमल सुवेदी र क्रान्तिशिखा धितालले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयकमा प्रदेश तथा स्थानीय तहअन्तर्गतका कर्मचारीलाई समेत कर्मचारी सञ्चय कोषमा आबद्ध गराउने प्रस्ताव गरिएको छ । साथै ऐनमा रहेका केही प्रावधान र परिभाषालाई थप स्पष्ट बनाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।
कानुनबमोजिम स्थापित अन्य कोषको सञ्चालन तथा व्यवस्थापन गर्ने अधिकार कर्मचारी सञ्चय कोषलाई प्रदान गर्नेलगायत विषय समेटेर विद्यमान ऐनलाई समयानुकूल परिमार्जन गर्न विधेयक ल्याइएको अर्थमन्त्री वाग्लेले बताएका छन् ।
२०८३ असोज १६ गते शुक्रवार १२:०४ बजे प्रकाशित























