"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अर्नब चक्रवातको प्रभाव : मुस्ताङमा भारी हिमपात, कोरला नाका ठप्प

मुस्ताङ – अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भारी हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिए । कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ ।

हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन र पर्यटकको आवागमन रोकिएको सशस्त्र प्रहरीले जनाएको छ । मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार नगर्न पनि अनुरोध गरिएको छ ।

हिमपातले उपल्लो मुस्ताङका बस्ती, खर्क र पाटन क्षेत्र ढाकिएका छन् । चिसो बढेपछि स्थानीयको जनजीवनसमेत प्रभावित भएको छ ।

यस्तै, वर्षाका कारण जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि जोमसोम–कोरला सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०८३ कात्तिक १४ गते शनिवार १३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु