नेपाल–भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्छ – प्रधानमन्त्री शाह
नयाँ दिल्ली – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नयाँ युगअनुकूल विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि नयाँ सम्भावनाका ढोका खोल्नुपर्ने बताएका हुन् ।
उनले पारस्परिक सम्मान, अटल विश्वास र आपसी सद्भाव नेपाल–भारत सम्बन्धका मुख्य आधार रहेको उल्लेख गर्दै यस सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको बताए ।
प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्दै प्रधानमन्त्री शाहले भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरे । साथै, भ्रमणका क्रममा न्यानो आतिथ्य र निमन्त्रणाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए ।
२०८३ मंसिर ७ गते सोमवार १५:३१ बजे प्रकाशित























