"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विराटनगर जुट मिल ब्युँताउने तयारी, सञ्चालनको विकल्प खोज्न एक महिनाभित्र प्रतिवेदन

काठमाडौँ । लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल पुन: सञ्चालनमा ल्याउने तयारीस्वरूप सरकारले विज्ञसहितको कार्यदल गठन गरेको छ।

मिलको आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुन: सञ्चालनका लागि उपयुक्त विकल्प पहिचान र सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले जुट मिलको वर्तमान अवस्था, यसअघि भएका सरकारी निर्णय तथा विभिन्न निकायले तयार गरेका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै पुन: सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवले जानकारी दिए।

बैठकमा अर्थ सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसहित सम्बन्धित मन्त्रालयका अधिकारी तथा सरोकारवालाको सहभागिता थियो। छलफलमा मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या र पुन: सञ्चालनका लागि अपनाउन सकिने विकल्पबारे विचारविमर्श गरिएको थियो।

सचिव यादवका अनुसार कार्यदलले जुट मिलको पुन: सञ्चालनका लागि आवश्यक आर्थिक, प्राविधिक, कानुनी तथा अन्य पक्षको वस्तुगत अध्ययन गर्नेछ। कार्यदलको अध्ययन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय लिनेछ।

प्रधानमन्त्री कार्यालयका अनुसार कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनेछन्।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सदस्य रहने व्यवस्था गरिएको छ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दुई जना विज्ञ सदस्य मनोनीत गरिनेछ। सोही मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाका उपसचिवले सदस्य–सचिवको जिम्मेवारी सम्हाल्नेछन्।

कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउनुपर्नेछ।

पुराना प्रतिवेदनदेखि मिलको सम्पत्तिसम्म अध्ययन
नयाँ कार्यदलले विराटनगर जुट मिल पुन: सञ्चालनका सम्बन्धमा यसअघि भएका निर्णय तथा विभिन्न निकायले गठन गरेका कार्यदलले पेस गरेका प्रतिवेदन, सुझाव र सिफारिससमेत अध्ययन गर्नेछ।

त्यस्तै मिल परिसरमा रहेका भवन, कारखाना, भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्थाबारे पनि अध्ययन गरिनेछ।

मिलको सम्पत्ति तथा दायित्वसम्बन्धी विषय टुंगो लगाउन आवश्यक कानुनी र व्यावहारिक उपायबारे सरकारलाई सुझाव दिनुपर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ।

कार्यदलको प्रतिवेदनका आधारमा विराटनगर जुट मिललाई कुन मोडेलमा र कसरी पुन: सञ्चालन गर्न सकिन्छ भन्नेबारे सरकारले थप निर्णय लिनेछ।

२०८३ साउन २६ गते मंगलवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु