नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताउनुभएको छ । आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्वारा आयोजित इद मिलन तथा सङ्घर्षशील आवाजहरु नामक पुस्तक विमोचन कार्यक्रममा मन्तव्य राख्नु हुँदै उहाँले नेपालको मुस्लिम समुदाय शान्ति प्रिय र देशभक्त आदिवासी समुदाय भएको बताउनुभयो । “जातका नाममा, धर्मका नाममा राजनीति गरेर जनता उझाल्ने काम सह्य हुँदैन ।
राष्ट्रिय एकता कायम गर्न सबैबीच सद्भाव हुनुपर्छ । धर्मका नाममा भड्काउने कामलाई निरुत्साहित गरिनुपर्छ । विविधतायुक्त नेपाली समाज हाम्रो साझा सम्पत्ति हो । समृद्धि र न्याय सहितको लोकतन्त्र हाम्रो राजनीतिक माध्यम हो । मिलेर बसेको विविधतायुक्त समाजलाई भड्काउन खोजिँदै छ”, ओलीले भन्नुभयो, “देशको सेवा र जनताको सुरक्षा गर्ने माध्यम राजनीति हुनुपर्छ ।
राजनीतिका नाममा ठगी खाने माध्यम बनाइनु हुँदैन । राजनीतिलाई झूट र बेइमानीको माध्यम बनाइनु हुँदैन ।” संविधानसभा सदस्य नजिर मियाँद्वारा लिखित सङ्घर्षशील आवाजहरु नामक पुस्तकका बारेमा धारणा राख्नुहुँदै अध्यक्ष ओलीले पुस्तकमा लेखकका असाधारण अनुभव, पारिवारिक व्यवहार, पार्टीगत काम, मुस्लिम इत्तेहाद सङ्गठनका प्रसङ्गवश सम्झिएका महत्वपूर्ण विषयवस्तुहरु पुस्तकमा रहेको बताउनुभयो ।
उहाँले मियाँलाई अझ ज्ञानवर्द्धक अर्को पुस्तक प्रकाशन गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्व राजनीतिमा धर्मका नाममा ठूलाठूला आन्दोलन भइरहेको उल्लेख गर्दै सामाजिक न्याय समानता र सद्भावसहित राष्ट्रिय एकतामा केन्द्रित हुनुपर्ने बताउनुभयो । विमोचित पुस्तकका लेखक संविधानसभा सदस्य नजिर मियाँले पुस्तकमा महामुली गाउँको खेती किसानी गरेको व्यक्तिको जीवनमा घटेका घटनालाई चित्रण गर्न खोजेको बताउनुभयो । “पुस्तकमा महामुली गाउँको खेती किसानी गर्ने व्यक्तिको जीवनमा घटेका घटनालाई चित्रण गर्न खोजेको छु । मैले ७२ वर्षसम्म के मेहनत गरेँ भन्ने कुरा पुस्तकमा लेखेछु”, मियाँले भन्नुभयो ।
२०८० जेठ ८ गते सोमवार १९:५५ बजे प्रकाशित























