भारतले प्याजमा निर्यातमा ४० प्रतिशत बढायो कर, नेपाली बजारमा छोइनसक्नु
काठमाडौँ। भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर (शुल्क) लगाएको छ। प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो।
यो शुल्क ३१ डिसेम्बरसम्म लागू हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्याजको निर्यातमा कर लगाइएको उल्लेख छ।
भारतका अनुसार त्यहाँ प्याजको मूल्य बढ्न थालेको छ। सोही मूल्यवृद्धि नियन्त्रण गर्न कर बढाइएको जनाइएको छ। प्याज निर्यातमा लाग्ने ४० प्रतिशत कर तत्काल लागू भइसकेको छ।
नेपालमा धेरैजसो भारतीय प्याजको दबदबा छ। भारतले प्याज निर्यातमा कर थपेसँगै नेपाली बजारमा मूल्य बढ्ने अनुमान गरिएको छ। भारतले यसअघि प्याज निर्यातमा कर लगाएको थिएन।
अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीमा भारतीय प्याजको मूल्य प्रतिकिलो ६१ रुपैयाँसम्म छ। नेपालले पनि चालू वर्षको बजेटमार्फत आलुप्याजमा भ्याट लगाएको छ। व्यवसायीहरुले यसको विरोध गरिरहेको बेला अहिले भारतले नै निर्यातमा कडाइ गरेको छ।
नेपालले गत आर्थिक वर्ष ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको प्याज भारतबाट आयात गरेको थियो ।
२०८० भदौ ५ गते मंगलवार २०:०२ बजे प्रकाशित























