कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताएका छन् ।
नातिकाजी स्मृति समाजले शीतलनिवासमा साेमबार आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गरे ।
“सृजना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य निधि हुन्”, उनले भने, “कलाकार सृर्जना र संस्कृतिका संवाहक हुन्, कलाकारका साधनाबाट सिर्जित सृजनाले राष्ट्रको पहिचान स्थापित गर्नेगर्छ ।”
उनले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक पहिचानका रुपमा रहेको बताए ।
२०८० माघ २२ गते सोमवार १९:२६ बजे प्रकाशित





















