प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ
काठमाडौँ। रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा ठूलो रकम जम्मा भएको जानकारी दिएका छन्।
प्रधानमन्त्रीका अनुसार बुधबारसम्म राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। यसमध्ये मंगलबार मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।
निकासा भएको रकममध्ये ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ स्थानीय तहमा पठाइएको छ।
प्रधानमन्त्रीका अनुसार कोषमा अहिले ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ। यसबाहेक कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको छ।
सरकारले बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्राप्त सहयोगलाई परिचालन गरिरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
२०८३ भदौ १७ गते बुधवार १४:४७ बजे प्रकाशित





















