राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। उनको हाल वीर अस्पतालमा सघन उपचार भइरहेको छ।
उपचारमा संलग्न प्लास्टिक सर्जन डा। पीयूष दाहालका अनुसार गणेशको शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ। अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गम्भीर जलन भएको उनले जानकारी दिए।
उनका अनुसार आकस्मिक कक्षमा आवश्यक प्राथमिक उपचार, औषधि तथा विभिन्न परीक्षण सम्पन्न गरिएपछि एनेस्थेसिया टोलीसँग समन्वय गरी बिरामीलाई सघन उपचार कक्ष ९आईसीयू० मा सार्ने तयारी गरिएको छ।
डा. दाहालले बिरामी अहिले सामान्य रूपमा केही बोल्न सक्ने अवस्थामा रहे पनि स्वास्थ्य अवस्था अझै पनि संकटपूर्ण रहेको बताए। जलनका कारण हुन सक्ने जटिलतालाई ध्यानमा राख्दै चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार अघि बढाइएको उनले बताए।
चिकित्सकहरूका अनुसार शरीरको ठूलो भाग जलेका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने जोखिम उच्च हुने भएकाले प्रारम्भिक २४ देखि ७२ घण्टा उपचारका लागि अत्यन्त संवेदनशील अवधि मानिन्छ।
वीर अस्पतालले बिरामीको अवस्थालाई नजिकबाट निगरानी गर्दै आवश्यक सबै उपचार सेवा उपलब्ध गराइरहेको जनाएको छ।
२०८३ असार २५ गते बिहीवार १७:३२ बजे प्रकाशित






















