कानुन संशोधनपछि आर्थिक क्षेत्रमा उत्साह : अर्थमन्त्री
भैरहवा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रसँग सम्बन्धित २९ वटा कानुन संशोधनपछि आर्थिक क्षेत्रमा उत्साह थपिएको बताउनुभएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व नीतिका सम्बन्धमा रुपन्देहीका उद्योगी व्यवसायीसँगको छलफलमा उहाँले यसले निजी क्षेत्रको मनोबल बढाएको बताउनुभएको हो ।
“वर्तमान सरकार बनेपछि अध्यादेशमार्फत एकैचोटी २९ कानुन संशोधन गरेर निजी क्षेत्रका समस्या समाधानको पहल गरिएको छ, यसबाट समग्र आर्थिक क्षेत्रमै उत्साह थपिएको छ,” अर्थमन्त्री पौडेलले भन्नुभयो । उहाँले वर्तमान सरकार निजी क्षेत्रलाई सुन्ने हिसाबले अघि बढेको जानकारी दिँदै सरकारको उद्देश्य निजी क्षेत्रमैत्री वातावरण बनाउने रहेको बताउनुभयो । त्यो प्रयासस्वरूप कानुन संशोधन गरिएको पनि उहाँको भनाइ छ । कानुनमा संशोधन गरिएपछि अर्थतन्त्रमा सकारात्मक परिवर्तन देखिएको र निजी क्षेत्रमा उत्साह बढेको पनि उहाँले बताउनुभयो ।
“आत्मविश्वासका साथ अघि बढ्नूस्, सरकार निजी क्षेत्रसँगै छ,” उद्योगी व्यवसायीलाई आश्वस्त पार्दै अर्थमन्त्री पौडेलले भन्नुभयो । उहाँले प्राप्त सुझाव अध्ययन र विश्लेषण गरेर व्रmमशः कार्यान्वयनमा लगिने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्ने र रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले करको दरभन्दा करको दायरा बढाउन जरुरी रहेको भन्दै उच्चस्तरीय राजस्व सुझाव आयोगको सुझावलाई कार्यान्वयन गरिए कर तथा राजस्व क्षेत्रका समस्या समाधान हुने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले विगतमा नाकाबन्दीमा प्रयोग भएका अस्थायी सीमानाका हाल वैध जस्तै गरी चलिरहेका र ती नाकाबाट चोरी तस्करी बढिरहेको गुनासो गर्नुभयो । उद्योगी, व्यवसायी सरकारी निकायमा सेवा लिन जाँदा अलमल हुने खालका संरचना खारेज गरेर एकद्वार नीतिबाट सेवा पाउने अवस्था बनाउन उहाँले सुझाव दिनुभयो ।
पछिल्लो पटक सरकारले निजी क्षेत्रको हितमा अध्यादेशमार्फत ल्याएका कानुनले खुला र प्रतिस्पर्धी बजारको सिद्धान्तलाई आत्मसात् गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । निजी क्षेत्रको प्रवर्धनका लागि त्यतिले मात्र पर्याप्त नहुने उहाँको भनाइ थियो ।
२०८२ वैशाख १ गते सोमवार १७:४६ बजे प्रकाशित






















