एमालेले पूर्वराष्ट्रपति भण्डारीमाथि लगाएको प्रतिबन्ध संविधानविपरीत छ : माओवादी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिन बिना आधार बन्देज लगाउनु संविधानको मौलिक हकको स्वतन्त्रताको गम्भीर उल्लङ्घन हुने बताएका छन्।
गुरुङले भने ‘पूर्वराष्ट्रपतिमाथि एमालेले प्रवेशमा गरिएको प्रतिबन्ध नेपालको संविधानको मौलिक हकको धारा १७ विपरीत रहेको देखिन्छ, किनभने नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन। नेपाली नागरिकहरूको हकमा मौलिक हकसम्बन्धी धारा १७ ले दलीय स्वतन्त्रता प्रदान गरेको छ। कुनै पनि नेपाली नागरिकलाई दल खोल्ने वा कुनै दलमा प्रवेश गर्ने र दलीय गतिविधि गर्न पाउने स्वतन्त्रता प्रदान गरेको छ । एमालेले गरेको निर्णयमा केवल पूर्वराष्ट्रपति भइसकेको भन्ने मात्र देखिन्छ। पूर्वराष्ट्रपतिलाई पनि नेपालको संविधानले नागरिकको रूपमा चिन्छ। संवैधानिक पदमा हुँदा सोहीअनुसार चिन्ने हो। पदमा रहेको वा नरहेको दुई स्थितिबाहेक तेस्रो स्थितिको नागरिकको परिकल्पना संविधानले गरेको छैन,’ उनले भनेका छन्।
बिना आधार बन्देज लगाउनु संविधानको मौलिक हकको स्वतन्त्रताको गम्भीर उल्लङ्घन हुने उनले बताएका छन्। ‘निर्वाचन आयोगमा संविधानअनुसार दर्ता भएका दलहरूले संविधानको मौलिक हकविपरीत कुनै पनि विधान वा नियमावली बनाउन र निर्णय गर्न मिल्दैन। मौलिक हकविपरीत भए गरेका निर्णयहरू प्रथम दृष्टिमा नै बदरयोग्य हुने ठहर्दछ,’ उनले भनेका छन्।
२०८२ साउन ८ गते बिहीवार १७:१० बजे प्रकाशित




















