"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाजुराकाे मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा आवतजावत देखि खाद्यान्न ढुवानी गर्न समस्या

बाजुरा । मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको करिब एक महिना भयो । एक महिना बितिसक्दा पनि सडक खुल्न सकेको छैन् ।

सडक अवरुद्ध हुँदा यहाँका स्थानीयवासी र बटुवाले सास्ती खेप्न बाध्य छन् ।  बर्खा यामको समयमा उक्त सडक खण्ड अवरुद्ध हुँदा आवतजावत देखि खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ । सडक माथिबाट पहिरो आएर अवरुद्ध भएको सडकलाई मर्मत गर्न नसक्दा मार्तडी कोल्टी सडक खण्डको तिन ठाउँमा सडक बिग्रिएको छ ।

विशेष गरी पुर्वीउत्तरी क्षेत्रका चार वटा पालिकाका नागरिकहरूले ठुलो समस्या भाग्नुपरेको अवस्था छ । मार्तडी कोल्टी सडक खण्डमा पर्ने बडीपालिका नगरपालिका ७ को जिल्ली, रजातोली र भ्यासुपातलमा सडक अवरुद्ध हुँदा नागरिकहरूलाई गाडीको यात्रा गर्न निकै कष्टकर बनेको छ । मार्तडी कोल्टी सडक खण्डको ४२ किलोमिटर सडकमा चार वटा गाडी बदल्नुपर्ने बाध्यता रहेको छ । मार्तडी कोल्टी सडक खण्ड सङ्घीय सडक भएता पनि यसको रेखदेख तथा मर्मत निर्माण कार्य सडक पूर्वाधार विकास कार्यालय अछाम अन्तर्गत हो । तर सडक सुचारु गर्न उक्त कार्यालयको ध्यान नदिएको स्थानीय उमेश रोकायाले बताए ।

यहाँका नागरिकहरूले मार्तडी कोल्टी सडक खण्डमा चार वटा गाडी बदल्दै मार्तडी आउजाउ गर्नुपर्ने बाध्यता भएको उनले भने ।  मार्तडी कोल्टी सडक खण्डमा १५ सय भन्दा बढी भाडा तिर्नुपर्ने बाध्यता रहेको हांशि संन्ज्यालले बताए ।

घरबाट मार्तडी तर्फ आइसकेपछि बाटोमा उनले ठुलो समस्या भोग्नु पर्यो । कोल्टीबाट मार्तडीसम्म चार वटा गाडी फेरबदल गरेर एक हजार पाँच सय  रुपियाँ भाडा तिरे हांशिले भने । उनि  प्रतिनिधि पात्र मात्र हुन  । उनि जस्तै अरू नागरिकले पनि यस्तै समस्या भोग्नु पर्ने अवस्था बाजुरामा रहेको छ ।

यता प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले मार्तडी कोल्टी सडक खुलाउने प्रयास भइरहेको बताए । उनले नागरिकहरूका समस्याहरूलाई स्वीकार गर्दै सम्बन्धित निकायलाई सडक खुलाउन ताकेता गर्दै आएको बताए । यहाँका सम्बन्धित पालिकाहरूलाई सडक सुचारु गर्न आग्रह गर्दा पनि सुनुवाइ नगर्ने गरेको प्रजिअ पाध्याको भनाई छ ।

मार्तडी कोल्टी सडक खण्ड अवरुद्ध हुँदा नागरिकहरूले ठुलो दुख पाएको बताउँदै सम्बन्धित पालिका र सडक पूर्वाधारलाई यसको मर्मत कार्य गरी सडक तत्काल सुचारु गर्न निर्देशन दिए ।

२०८२ साउन १३ गते मंगलवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु