जिल्ला अदालतको आदेशविरुद्ध उच्च गए रवि, निकिताले भनिन्– ‘न्यायका हरेक ढोका ढक्ढक्याउने छु’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने फेरि उच्च अदालत पुगेका छन् ।
लामिछाने पत्नी निकिताले सोमबार आफूले श्रीमानको तर्फबाट न्यायका लागि उच्च अदालत बुटवलको ढोका पनि ढक्ढक्याएको बताइन् ।
निकिताले सामाजिक सञ्जाल फेसबुकमार्फत भनिन्, ‘मेरो श्रीमान् भन्नुहुन्छ, यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसकेको छ, एउटै रावणका फरक टाउका गन्न छाडिदेऊ। तर, श्रीमतीको नाताले मेरो पनि जिद्दी छ—संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढकढक्याउँछु।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।
उक्त आदेशविरुद्ध सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता भएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि कारागारमा छन् ।
२०८२ भदौ ९ गते सोमवार १७:०८ बजे प्रकाशित























