प्रशासनबाट दशौँ पटक फोन आएपछि बाहिर निकालिएको हो: रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछालाई कारागार प्रशासनबाट दशौँ पटक फोन आएपछि नख्खु कारागारबाट निकालिएको बताएको छ ।
मंगलबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि सह प्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनबाट उहाँको सुरक्षाका लागि पार्टीका शीर्ष नेतृत्व वा परिवार को हुनुहुन्छ छिटो आइदिनुपर्यो भनेर पटक–पटक भनेपछि कारागारबाट निकालिएको बताएको छिन् ।
‘भदौ २४ गते सभापति रवि कसरी कारागारबाट निस्के भन्न प्रश्न उठेका छन् । त्यसमा कति कुराहरू अतिरञ्जित पनि छ । त्यो दिन कारागार प्रशासनबाट उहाँको सुरक्षाका लागि पार्टीका शीर्ष नेतृत्व वा परिवार को हुनुहुन्छ छिटो आइदिनुपर्यो भनेर पटक–पटक भनियो । एक पटक एक जनालाई होइन । दशौँ पटक दशौँ मानिसलाई फोन आएको छ । त्यसपछि उहाँ निस्किनुपर्ने अवस्था आएको हो’, प्रष्टीकरण दिँदै रावलले भनिन् ।
सहकारी ठगी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका रविलाई भदौ २३ र २४ गते जेनजी आन्दोलनको मौका छोपी पार्टी नेताहरूले बाहिर निकालेको आरोप लागेको थियो । त्यतिमात्र नभई रविकै कारण कैदीहरू समेत निस्किएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
२०८२ असोज ७ गते मंगलवार १७:३१ बजे प्रकाशित























