प्रचण्डको व्यङ्ग्यः हिजो संसद् विघटन गर्ने, आज पुनःस्थापनाको कुरा गर्ने’
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा फेरि अराजकता निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
शनिबार पेरिसडाँडामा आयोजित अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्तरिम) को कार्यक्रममा बोल्दै उनले अहिलेको समस्याको समाधान निर्वाचनमै रहेको बताए।
उनले भने, “अन्तरिम सरकारको कार्यभार नै चुनाव गराउनु हो। यही आजको आवश्यकता पनि हो। यसलाई छोडेर अर्को नारा उठाइयो भने देशमा पुनः अराजकता र दुर्घटना निम्त्याउनेबाहेक अरू केही हुँदैन।”
प्रचण्डले हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताए। उनले भने, “ती साथीहरूलाई म अनुरोध गर्छु — वितण्डा नगरौँ, निर्वाचन सफल पार्न सबै मिलेर लागौँ। यही संविधान, लोकतन्त्र र देशको हितको पक्ष हो।”
उनले सुशीला कार्की नेतृत्वको सरकार तत्कालीन प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा बनेको पनि स्मरण गरे। प्रचण्डका अनुसार, नयाँ जनप्रतिनिधि निर्वाचनबाट आउँदा संविधान फेरि सही दिशामा फर्किनेछ।
२०८२ कात्तिक १ गते शनिवार १७:१३ बजे प्रकाशित























