प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ आन्दोलनका घाइतेसँग छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी आन्दोलन’का क्रममा घाइते भएकाहरूसँग छलफल गरेकी छन्। बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा आन्दोलनका घाइतेहरूले भ्रष्टाचार नियन्त्रण र राज्यद्वारा भएको दमनका घटनामा ठोस कदम चाल्न सरकारसँग आग्रह गरे।
रुपिन खड्काको नेतृत्वमा पुगेको १८ सदस्यीय टोलीले प्रधानमन्त्री कार्कीलाई भेट्दै, “क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी काम गर्नुपर्छ” भन्ने माग राखेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल सहभागी थिए।
बैठकमा गृहमन्त्री अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनसम्बन्धी छानबिनको प्रगतिबारे जानकारी दिँदै भने, “भाग्न खोज्ने र सम्पत्ति लुकाउने व्यक्तिहरू अब ‘नेपालमै छु’ भन्दै देखापर्न थालेका छन्।” उनले छानबिन प्रक्रियाले अब ठोस परिणाम दिने विश्वास दिलाए।
प्रधानमन्त्री कार्कीले ‘जेनजी आन्दोलनको मर्म र जनभावना’लाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै भनिन्, “हामी प्रक्रियासम्मत ढङ्गले काम गर्छौं, कानुनी सीमाभित्रै रहन्छौं। चुनाव पनि हुन्छ, छानबिन पनि हुन्छ।”
उनले राज्यका निकायहरू तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै घाइतेहरूलाई भनिन्, “तपाईंहरूले दबाब दिन नछाड्नुहोस्, अब नतिजा आउँछ।”
घाइतेहरूले केही आरोपित व्यक्ति अझै नियन्त्रणबाहिर रहेको र अकूत सम्पत्ति लुकाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
२०८२ कात्तिक ४ गते मंगलवार १७:३५ बजे प्रकाशित




















