"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जेनजी आन्दोलनमा भएको दमनप्रति म जिम्मेवार छैन: पूर्वगृहमन्त्री लेखक

काठमाडौं। निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन्।

बुधबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले सरकारका तर्फबाट यस सम्बन्धमा न त लिखित न त मौखिक रूपमा कुनै सूचना प्राप्त भएको बताएका हुन्।

‘मलाई आजसम्म सरकारले लिखित वा मौखिक रूपमा स्थानहद गरेको, पासपोर्ट रोक्का गरेको भनेर कुनै जानकारी दिएको छैन,’ लेखकले बैठकमा भने, ‘कुन संविधान, कुन कानुन, कुन ऐन अन्तर्गत, के प्रयोजनका लागि र कति अवधिका लागि मलाई स्थानहद गरिएको हो भन्ने विषयमा पनि जानकारी छैन।’

लेखकका अनुसार उनले करिब दुई महिना अघि सरकारको उक्त निर्णयबारे समाचार माध्यमबाट मात्रै सुनेका हुन्। ‘निवर्तमान प्रधानमन्त्री र म लगायतलाई स्थानहद गरेको र पासपोर्ट रोक्का गरिएको रहेछ भन्ने कुरा म समाचारबाटमात्रै थाहा पाएको हुँ,’ उनले स्पष्ट पारे।

लेखकले जेनजी आन्दोलनमा भएको दमनप्रति आफू जिम्मेवार नभएको दाबी पनि बैठकमा गरेका छन्। उनका अनुसार गृहमन्त्रीका रूपमा रहँदा उनले सुरक्षा संयन्त्रलाई बारम्बार ‘कुनै अप्रिय घटना नहोस्’ भन्ने निर्देशन दिएका थिए।

‘प्रधानमन्त्री वा मन्त्रीले दमन गर्न आदेश दिने विषय नै होइन,’ लेखकले भने, ‘२२ गते साँझ र भोलिपल्ट बिहान पनि मैले गृहसचिव र दुवै प्रहरीका महानिरीक्षकलाई क्याजुअल्टी नहोस् भनेर पटक–पटक भनेको छु। त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारमाध्यममा समेत सार्वजनिक गर्नुभएको छ।’

२०८२ कात्तिक २६ गते बुधवार १७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु