ईश्वर पोखरेलले गरे एमाले अध्यक्षको उम्मेदवारी घोषणा
काठमाडौं । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेका अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन्।
पोखरेलले मंगलबार जारी विज्ञप्तिमार्फत आफू अध्यक्ष बन्ने निर्णय सार्वजनिक गरेका हुन्। यसअघि पनि उनले पार्टीको सचिवालय बैठकमा आफ्नो इच्छाबारे जानकारी गराइसकेका थिए।
उम्मेदवारी घोषणा गर्दै पोखरेलले भने कि देशभरका नेता–कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकार गर्दै यो निर्णय लिएको हुन्। उनले अपेक्षा व्यक्त गरे कि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नेछन्।
तर, मंसिर अन्तिम साता तय भएको एघारौं महाधिवेशनका लागि ओलीले नेतृत्व नछोड्ने तयारी गरिरहेका छन्। ओलीले तेस्रोपटक अध्यक्ष बन्नका लागि पार्टी विधान नै संशोधन गरेका थिए।
पोखरेलको तर्क अनुसार, जेनजी आन्दोलनपछि राजनीतिक परिस्थितिमा आएको परिवर्तनले ओलीले नेतृत्व छोड्नु पर्ने देखिन्छ।
२०८२ मंसिर ९ गते मंगलवार १६:५७ बजे प्रकाशित




















