ऊर्जामन्त्री घिसिङलाई सरकार छोड्न प्रधानमन्त्री कार्कीको सुझाव
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङलाई सरकार छोड्न सुझाव दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनलाई समयमै चुनावको वातावरण बनाउन योगदान पुर्याएको भन्दै अब चुनाव र पार्टीको काममा लाग्न सके राम्रो हुने सल्लाह दिइएको स्रोतले बतायो।
कुलमानले उज्यालो नेपाल पार्टी खोल्ने बेला राजिनामा दिन खोजेका थिए। त्यसबेला प्रधानमन्त्री कार्कीले काम सकिएपछि मात्र जान दिन सुझाव दिइन्। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति बन्ने सहमति भएपछि मन्त्रिपरिषद् भित्र र बाहिर प्रश्न उठ्न थालेका कारण कार्कीले अन्तत: सरकार छोड्न सुझाव दिइन्।
चुनावका लागि बनेको गैरदलिय सरकारले राजनीतिक दलको नेतृत्वमा पुगेको व्यक्तिलाई राख्नु उचित नरहेको भन्दै मन्त्रीहरूले पनि यसबारे प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।
हाल कुलमान रास्वपाको उपसभापति बन्ने सहमति भए पनि शपथ लिइसकेका छैनन्। अन्य मन्त्रीहरूले भने चुनाव लड्ने वा नलड्ने स्पष्ट घोषणा गरेका छैनन्।
२०८२ पुस २२ गते मंगलवार १७:३० बजे प्रकाशित






















