राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन उपयुक्त – पूर्वराजा शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्।
७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार जारी भिडियो सन्देशमार्फत उनले यस्तो बताएका हुन्। प्रजातन्त्रमा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि वर्तमान परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्न उनले आग्रह गरेका छन्।
उनले सन्देशमा भनेका छन्, “यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुनेछ।”
निर्वाचनपछि मुलुकमा कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। राष्ट्रिय सहमति र सबैलाई समेट्ने समझदारी निर्माण गरेर मात्र निर्वाचनमा जाँदा सही मार्ग समातिने उनको तर्क छ।
पूर्वराजा शाहले राष्ट्रिय एकता, स्थायित्व र सहकार्यका आधारमा अगाडि बढ्न राजनीतिक दलहरूलाई आह्वान गरेका छन्।
२०८२ फागुन ६ गते बुधवार १७:१६ बजे प्रकाशित























