समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराई का अनुसार आयोगमा पेस भएका सबै दलका सूचीहरू नियमअनुसार मिलाएर पठाइएका छन्।
‘हामीले दलहरूले पठाएका सूची अध्ययन गरिरहेका छौँ। सबै दलले क्लस्टर मिलाएर सूची पठाएका छन्, कसैको पनि सूची बिग्रिएको छैन,’ भट्टराईले भने।
उनका अनुसार आयोगले अहिले सूची रुजु गर्ने काम गरिरहेको छ र सोमबार साँझसम्म सूची सार्वजनिक गर्ने तयारी गरिएको छ।
समानुपातिक प्रणालीतर्फ ६ वटा राजनीतिक दलले सांसद पाउने गरी मत प्राप्त गरेका छन्। आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७, नेपाली कांग्रेस ले २०, नेकपा एमाले ले १६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी ले समान ४/४ सिट पाएका छन्।
२०८२ चैत २ गते सोमवार १७:११ बजे प्रकाशित






















