इनिशा विकको न्याय माग गर्दै आजपनि काठमाडौंमा विरोध प्रदर्शन
काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ।
काठमाडौंको माइतीघर मण्डलामा दलित जेनजी अलाइन्सले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनमा विद्यार्थीहरूले विद्यालय ड्रेसमै सहभागी भएर न्यायको माग गरेका थिए।
प्रदर्शनकारीहरूले ‘इनिशा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
साथै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशा विकको बलात्कारपछि हत्या भएको प्रकरणमा प्रहरीले फरेन्सिक रिपोर्टको प्रतिक्षा गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ।
यो घटनाले समुदायमा ठूलो आक्रोश पैदा गरेको छ र न्यायको मागलाई बल पुर्याएको छ।
२०८२ चैत २ गते सोमवार १७:१५ बजे प्रकाशित






















