शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह
काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत पुगेका छन्।
आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारिख लिन उनी सर्वोच्च अदालत पुगेका हुन्।
शाहविरुद्ध करिब तीन वर्षदेखि सर्वोच्च अदालतमा अवहेलना मुद्दा विचाराधीन छ। उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलहरूमा हिन्दी चलचित्र नरोकिने अन्तरिम आदेश दिएको थियो। सोही आदेशपछि मेयर शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गराएकी थिइन्।
उक्त मुद्दाकै तारिखका क्रममा शाह आज सर्वोच्च अदालत पुगेका हुन्। अब उक्त मुद्दाको सुनुवाइका लागि आगामी १४ जेठका लागि तारिख तोकिएको छ।
२०८२ चैत १२ गते बिहीवार १७:२६ बजे प्रकाशित






















