"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको नेतृत्वमा पुगेको टोलीले ओलीलाई पक्राउ गरेको पुष्टि एक उच्च प्रहरी अधिकृतले गरेका छन्। प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिन रातिदेखि नै टोली परिचालन गरिएको थियो।

ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि बुधबार बिहान भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनको घटनामा अनुसन्धान

भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको घटनासम्बन्धी अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरिएको हो। तीन दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८२ अनुसार ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको थियो।

उक्त दफाअनुसार हेलचेक्र्याइँपूर्वक ज्यान गएको ठहरिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

मन्त्रिपरिषद् निर्णय र कानुनी प्रक्रिया

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्र बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै गृहमन्त्री सुदन गुरुङले घटनाको अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार मृतक तथा घाइतेका परिवारले दर्ता गराएको जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। प्रहरी स्रोतले पक्राउ गर्नुअघि जिल्ला अदालतबाट अनुमति नलिई जरुरी पूर्जीका आधारमा नियन्त्रणमा लिइएको जनाएको छ।

प्रक्रियाअनुसार पक्राउ पूर्जी बुझाइएपछि स्वास्थ्य परीक्षण गराई हिरासतमा राखिनेछ। उनलाई २४ घण्टाभित्र मुद्दा दर्ताका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने कानुनी व्यवस्था छ।

नेपालको इतिहासमा पूर्वकार्यकारी प्रमुख ज्यानसम्बन्धी मुद्दामा पक्राउ परेको यो पहिलो घटना भएको प्रहरी अधिकारीहरू बताउँछन्।

२०८२ चैत १४ गते शनिवार १७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु